गाईजात्रामा घिन्ताङघिसी नाच प्रदर्शन

काठमाडौं । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्रा भक्तपुरमा घिन्ताङघिसी नाच्दै मनाइएको छ ।  गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक पनि थपिएको छ । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

 

आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन शुक्रबार टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुनेहुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौँकोे सङ्ख्यामा मानिस आएका थिए ।

 

एक वर्षभित्र दिवंगत आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि कृष्ण जन्माष्टमीसम्म सातदिन मनाइने गाईजात्राको दिन बिहानै भक्तपुर तलेजुस्थानबाट तलेजुको ताहामचा बनाई देश परिक्रमा गरेपछि यो जात्रा शुरु भएको हो ।

 

त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाको मृतात्माको प्रतीक ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिएको थियो । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई नगर परिक्रमा गर्ने प्रचलन छ ।

 

जात्रामा करुण रस प्रधान गीतिलीला रामायणसमेत प्रदर्शन गरिएको थियो भने केहीले कालोमाटोको साँढे बनाई शृङ्गारपटारसाथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गरिएको थियो ।

 

जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, भैरव नाच र माक प्याखं (बाँदर नाच), लाखे नाच, विभिन्न देवीदेवताको नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ ।

 

विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार